तपाईंको इमान नै लोकतन्त्रको जग हो: प्रलोभनको राजनीति र मतदाताको जिम्मेवारी

 एउटा सरल तर गहिरो सत्य के हो भने, पैसा न त कसैको करेसाबारीमा फल्छ, न त कसैसँग पैसा फल्ने बोट नै छ। यदि कसैसँग भैहाले पनि, उसले त्यो सित्तैमा किन बाँड्छ? सोच्नुहोस् त, तपाईंको बारीमा फलेको तरकारी वा तपाईंको बोटमा फलेको आँप, के तपाईं कुनै लाभको आशा बिना सित्तैमा सबैलाई बाँड्न सक्नुहुन्छ? मानिलिऊँ, तपाईंले बाँड्नुभयो नै, तर अरूले पक्कै बाँड्दैनन्। जब मानिसले पुण्य कमाउने लोभ बिना मन्दिरको दानपेटिकामा एक रुपैयाँ खसाल्दैन भने, चुनावको बेला हजारौं-लाखौं खर्च गर्नेले त्यो सित्तैमा कसरी गर्न सक्छ?

प्रलोभन: मत किन्ने अदृश्य पासो

चुनावको समयमा तपाईंले पाउने हरेक "उपहार" वा "सहयोग" वास्तवमा उपहार होइन, त्यो तपाईंको बहुमूल्य मत किन्ने एउटा लगानी हो। तपाईंको यो "मुफ्तखोरी" ले तपाईंलाई कुनै अमुक व्यक्ति वा दलप्रति कृतज्ञ बनाउँछ, र यही कृतज्ञताको भावनात्मक बन्धनमा पारेर उसले तपाईंको विवेक र मत दुवै किनिरहेको हुन्छ।

यो क्षणिक लाभले कालान्तरमा तपाईंलाई र समग्र समाजलाई ठूलो नोक्सान पुऱ्याउँछ। तपाईं थाहै नपाई एउटा गलत र भ्रष्ट व्यवस्थाको मतियार बन्नुहुन्छ, जसले तपाईंको अधिकार खोस्छ र तपाईंको भविष्य अन्धकार बनाउँछ।

ऐनामा हेर्ने बेला: के हामी इमान्दार छौं?

हामी नेता बेइमान भए, भ्रष्ट भए भनेर गुनासो गर्छौं। तर एक पटक आफैँलाई प्रश्न गरौं: के हामी मतदाताको रूपमा इमान्दार छौं?

  • आफू चाहिँ मत बेच्ने,

  • उम्मेदवारको जात हेर्ने,

  • व्यक्तिगत आर्थिक वा गैर-आर्थिक लाभ खोज्ने,

  • अनि नेताले चाहिँ त्यस्तो केही गर्न नहुने?

यो कसरी सम्भव छ? यो कदापि सम्भव छैन। जबसम्म जनता इमान्दार हुँदैनन्, तबसम्म बेइमान नेताले चुनाव जितिरहन्छ। जहाँ इमान आफैँ बजारमा खरिद-बिक्रीको वस्तु बन्छ, जहाँ चुनावको बेला नाता, जात र धर्मको दुहाइ दिइन्छ, त्यहाँ विचार, सिद्धान्त र योग्यताको हार निश्चित छ। त्यहाँ केवल पार्टी, पैसा, भोजभतेर र लोभको विजय हुन्छ।

तसर्थ, परिवर्तनको सुरुवात आफैँबाट गरौं। आफ्नो इमान र जमीरलाई कुनै पनि हालतमा बिक्री हुन नदिऔं। जब मतदाताले आफ्नो विवेक बेच्न छोड्छ, तब पैसा र शक्तिको बलमा राजनीति गर्नेहरू आफैँ पाखा लाग्नेछन्। तपाईंको एउटा इमान्दार मत, भ्रष्ट व्यवस्थाको अन्त्यको पहिलो पाइला हुन सक्छ।

#Governance #Politics #राजनीति

Comments

Popular posts from this blog

The Digital Bulletin Board: Transforming Internal Communication in the Modern Workplace

लोकतन्त्रको मर्म र नेपालको अभ्यास: किन आवश्यक छ प्रत्यक्ष निर्वाचित कार्यकारी?

आध्यात्मिक यात्रा: इच्छा र भयभन्दा परको जीवन